परिचय
पृष्ठभूमि
एकीकृत सेवा कार्यालय, नवलपुर गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लास्तरमा सेवा प्रवाह गर्ने प्रमुख प्रशासनिक निकाय हो। प्रदेश सरकारको प्रशासनिक संरचनालाई प्रभावकारी, मितव्ययी, नागरिकमैत्री तथा सेवा–मुखी बनाउने उद्देश्यले गण्डकी प्रदेश सरकारले २०८२ सालमा प्रशासनिक पुनर्संरचना गरी उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत सञ्चालित पर्यटन तथा घरेलु उद्योग कार्यालय तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित सामाजिक विकास कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरूलाई एकीकृत गर्दै यस कार्यालयको स्थापना गरेको हो।
यसअघि शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि एवं सामाजिक विकास मन्त्रालयअन्तर्गत गण्डकी प्रदेशका ११ वटै जिल्लामा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७८ बमोजिम सामाजिक विकास कार्यालयहरू र साबिक उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन तथा साना उद्योग कार्यालय स्थापना गरी छुट्टाछुट्टै सञ्चालनमा ल्याइएको थियो। प्रशासनिक पुनर्संरचनापश्चात सम्बन्धित कार्यालयहरूको कार्यक्षेत्र, जनशक्ति तथा सेवा प्रवाहलाई एकीकृत गरी नागरिकले एउटै कार्यालयबाट बहुआयामिक सेवा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।
गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ बमोजिम प्रदेश सरकारबाट स्वीकृत नीति, योजना तथा कार्यक्रमहरूको जिल्लास्तरमा प्रभावकारी कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी यस कार्यालयले निर्वाह गर्दछ। कार्यालयले सामाजिक विकास, शिक्षा, संस्कृति, युवा तथा खेलकुद, पर्यटन प्रवर्द्धन, घरेलु तथा साना उद्योग विकास, उद्यमशीलता प्रवर्द्धन, सीप विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, सामुदायिक पूर्वाधार निर्माण तथा मर्मतसम्भार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला नेपालको गण्डकी प्रदेशअन्तर्गत रहेका ११ जिल्लामध्ये एक हो। नेपालको संविधान, २०७२ बमोजिम साविकको नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामका दुई छुट्टाछुट्टै जिल्लाका रूपमा स्थापना गरिएको हो।
यस जिल्लाको पूर्वमा चितवन जिल्ला, पश्चिममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला, उत्तरमा पाल्पा र तनहुँ जिल्ला तथा दक्षिणमा चितवन जिल्ला र भारतको बिहार राज्य रहेका छन्। १,३३१.१६ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लाको भारतसँग जोडिएको अन्तर्राष्ट्रिय सीमा करिब ३ किलोमिटर रहेको छ, जहाँ नारायणी नदीले प्राकृतिक सीमा निर्धारण गरेको छ। भित्री मधेश क्षेत्रमा पर्ने यस जिल्लाको सबैभन्दा अग्लो स्थान देवचुली (१,९३६ मिटर) हो।
राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लाको कुल जनसंख्या ३,११,६०४ रहेको छ, जसमध्ये १,६८,८२५ महिला र १,४२,७७९ पुरुष रहेका छन्। कुल जनसंख्यामध्ये ७०.१४ प्रतिशत शहरी तथा २९.८६ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्दछन्। जिल्लाको जनघनत्व २३४.०८ व्यक्ति प्रति वर्ग किलोमिटर रहेको छ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएका कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका जिल्लाका प्रमुख आर्थिक तथा व्यापारिक केन्द्रहरू हुन्। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्र जिल्ला भएकाले आयात–निर्यात, उद्योग, व्यापार, पर्यटन, लगानी तथा सेवा क्षेत्रको विकासका लागि यस जिल्लाको विशेष रणनीतिक महत्व रहेको छ।
यस जिल्लाको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक तथा पर्यटन विकासलाई प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकलाई गुणस्तरीय, सहज, पारदर्शी तथा उत्तरदायी सेवा प्रवाह गर्नु एकीकृत सेवा कार्यालय, नवलपुरको प्रमुख उद्देश्य हो। कार्यालयले प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्दै समावेशी, दिगो तथा परिणाममुखी विकासका लागि निरन्तर कार्यरत रहेको छ।